एक डोज लगाए पुग्ने जोन्सनको खोप अभियान आजदेखि, यो समूहले पाउनेछन् खोप – Janadesh Daily | ePaper

एक डोज लगाए पुग्ने जोन्सनको खोप अभियान आजदेखि, यो समूहले पाउनेछन् खोप


जनादेश अपडेट ।

सरकारले आज (सोमबार) देखि देशैभर जोन्सन एन्ड जोन्सन खोप लगाउने अभियान सुरु गर्दै छ। कोभ्याक्स सुविधा अन्तर्गत नेपालले अमेरिकाबाट अनुदान सहयोगमा प्राप्त गरेको जोन्सन खोप आजदेखि लगाइँदै छ। अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन खोप निःशुल्क प्रदान गरेको छ। यो खोप एक डोज मात्रै लगाउँदा पुग्छ।

आज र भोली दुई दिन सञ्चालन हुने यो खोप अभियानमा ५३ देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई प्राथमिकतामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए।

त्यसैगरी यसअघिको खोप अभियानमा छुटेका तोकिएको समूहका व्यक्तिहरुले खोप लगाउन पाउने छन्। पूर्ण र अति अपांगता (क र ख वर्ग) का नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सरसफाइकर्मी र स्वास्थ्यकर्मीले पनि खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खोप अभियान सञ्चालनका लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा खोप केन्द्र तोकिइसकेका छन्। खोप पुग्न बाँकी कतिपय दुर्गम जिल्लाबाहेक देशका धेरैजसो जिल्लामा आज र भोली जोन्सन खोप अभियान सञ्चालन गरिने पौडेलले जानकारी दिए।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले आज काठमाडौं उपत्यकामा सञ्चालित केही खोप केन्द्रको अनुगमन गर्दैछन्। जोरपाटीस्थित अपाङ्ग अस्पतालमा सञ्चालित खोप केन्द्रबाट बिहान १० बजेदेखि देउवाले अनुगमन सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज देउवाले अपाङ्ग अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध, पाटन अस्पताललगायत खोप केन्द्रहरु निरीक्षण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्