लोमनकुमार सुनार,
जब कृष्णसेनको जीवनमा कविता प्रवेश गर्यो तब उनी ‘इच्छुक’ भए । तर, गोर्की बन्ने इच्छुकको इच्छा जेलमै मर्यो । इच्छुक स्मृति दिवस (जेठ–१३) को सन्दर्भमा उनको सम्झना :
जलजला शिरभन्दा परको शान्त थबाङ कृष्णसेन इच्छुकले नजिक पुगेर हेर्दा उजाड र अशान्त थियो । सैनिक दमनले थिचिएका थबाङका गाउँले बरु वनवास गए, तर झुकेनन् पञ्चायती व्यवस्थासँग । र, निर्भीकतापूर्वक तिनले निर्दलीय चुनाव बहिष्कार गरे, भज्याङहरूमा प्रतिरोधी किल्ला खडा गरे । थबाङको त्यो साहस, शौर्य र वीरतामाथि उनले लेखे, ‘त्यो प्यारो–प्यारो पहाडी गाउँको नाम थबाङ हो ।’ विसं २०३८ मा ‘त्रिकोण’ मा छापिएको यही कविताबाट उनी प्रगतिवादी लेखनमा अविरल हिँडिरहे ।
पुर्ख्यौली घर दाङको भालुबाङ । तर, भारतको देहरादूनमा जन्मिए कृष्णसेन ‘इच्छुक’ (विसं २०१३ कात्तिक–३) । उतै बित्यो बाल्यकाल । पिता यमबहादुर सेन भारतीय सेनामा थिए र गोर्खा रेजिमेन्टको एउटा टुकुडी थियो देहरादूनमा । केही वर्षको देहरादून बसाइपछि बुबा र आमा भीमकुमारीसँगै घर फर्किए उनी । जलुके, सातमारा र भालुबाङका सुनसान बस्तीमा बिते उनका दिन ।
सेनसँगै पत्रकारिता गरेका दीपक मैनालीका अनुसार, बाल्यकालमा कृष्णसेन छरछिमेककै ‘रोलमोडल’ थिए । बच्चाहरूलाई असाध्यै माया गर्थे । आफू पनि खुसी हुन्थे, अरूलाई पनि खुसी बनाउँथे । गाउँलेहरू आफ्ना नानीहरूलाई भन्थे– ‘कृष्ण सेनजस्तो हुनुपर्छ ।’ गाउँलेले आफूलाई ‘असल’ भन्न थालेपछि सेनले छिमेकीकै कुखुराको चल्ला मारिदिए । त्यसपछि छिमेकीले भन्न थाले– ‘यो पनि त यस्तै रैछ ।’
सेनको बाल्यकालीन रमाइला–उज्याला दिनहरूमा अचानक कालो बादल मडारियो । मातृवात्सल्य खोसियो । एक बालकका लागि संसारै हुन् आमा । सदाका लागि आमाले संसार छोडेपछि एक बालकको बालापन कस्तो हुन्छ ? सेन त्यो भोगे । शोकले तड्पिएका सेनका बुबा त थिए, तर सँगै थिइन्– सौतेनी आमा पनि ।
कृष्णसेन किशोर नहुँदै बुबाको पनि मृत्यु भयो । सहाराबिनाको जीवन कति फिक्का हुन्छ ? त्यो पनि उनले भोगे । उनलाई एक आफन्त दिदीले हुर्काइन् । दुःखका ती दिनमा सेनले दाङको लालमटिया हाइस्कुल पढे । विसं २०३२ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरे । निम्न–मध्यमवर्गीय परिवारका उनी कलेज भर्ना हुन सकेनन् । साल्ट ट्रेडिङ कर्पोरेसन दाङ, कोयलाबासमा दुई वर्ष लेखापालको जागिरे भए ।
प्राइभेट परीक्षार्थी भएर भारतको गोरखपुरबाट आईए पास गरेका सेनले विसं २०३५ मा दाङको महेन्द्र क्याम्पसमा स्नातक अध्ययन गरे । कलेजकालीन ती दिनको स्मरण गर्छन् लेखक अमर गिरी, ‘एक दिन सेन र म हिन्दी सिनेमा ‘साजन’ हेर्न गयौं । सिनेमा हेर्दै जाँदा उनको अनुहारको रङ बदलियो । हलभित्र उनी गम्भीर देखिए । सायद कथाले छोयो । केहीबेर टोलाए । उनका आँखाले केही भनिरहेका थिए । त्यो मौनताभित्रको गम्भीरतामा मैले थप केही सोधिनँ । अक्सर म उनलाई नजिकबाट चियाउने यत्न गर्थें । हर मौनताभित्र उनमा केही भाव र संवेदना झल्किन्थ्यो ।’
गिरी भन्छन्, ‘सेन मुकेशका गीतहरू खूब गुनगुनाउँथे । सँगै रामेश–रायनका गीत पनि । सिनेमा हेर्न, मीठो खान र सादा–सफा कपडामा सजिन हमेसा रुचाउँथे । उनको मधुर बोली र सादा व्यवहारले धेरैलाई मोहित पार्थ्यो । फरक विचार राख्नेलाई पनि समेट्ने उनको खुबी थियो । बहस र छलफलमा हार्दिकता र साझापन झल्किन्थ्यो ।’ सेनको हत्या भएको २१ वर्षपछि उनको स्मृतिमा पस्छन् गिरी, ‘परिकारमा पनि सोखिन थिए सेन । थोरै, तर मीठो खानुपर्ने स्वभाव थियो । क्याम्पस पढ्दा सेन र म घोराही, गुजुरी बजारमा दुनामा राखिएको बंगुरको मासु मुख मिठ्याई मिठ्याई खान्थ्यौं ।’
परिवारजनको वियोग, जागिर छाडेपछिको आर्थिक अभाव ! त्यो अवसादले सेनका सपनाहरू अधुरै रहे । सेनसँग संगत गरेका लेखक ईश्वरचन्द्र ज्ञवाली भन्छन्, ‘२०४४–०४६ अवधिमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर पढ्दा हामी नजिकका दौंतरी थियौं । उनको साहित्यिक चेत र व्यक्तित्व देखेर म छक्कै पर्थें । सरलता, शालीनता, मिलनसारिता र हार्दिकता उनका अन्तर्निहित गुण थिए ।’
सेन भन्थे– ‘पैसा कमायो, केही समय रमायो । त्यसपछि शून्य । कसले चिन्छ ? मान्छेले केवल जीविकाका लागि मात्र सोच्ने होइन । सिर्जनात्मक कर्मद्वारा जीवन र समाज बदल्नुपर्छ । मरेपछि सबथोक खरानी भए पनि सिर्जना रहिरहन्छ ।’
कृष्णसेन जनावरप्रेमी थिए । कुकुर–बिरालोलाई असाध्यै माया गर्थे । उनी ‘जनादेश’ पत्रिकाको कार्यालय भोटाहिटीबाट पुतलीसडकको डेरासम्म जाँदा कुकुरका हुल उनलाई पच्छ्याउँथे । सडक र गल्लीमा भेटिने कुकुरलाई उनी बिस्कुट र खाना बाँड्दै हिँडिरहन्थे । भन्थे, ‘कुकुरको पनि वर्ग हुनेरहेछ । धनीले पाल्ने कुकुर मस्त खाएर निदाउँछन् । सडकका कुकुर खाने जोहोमै भौंतारिन्छ्न र ती खानाभन्दा बढी चुटाई खान्छन् ।’ उनी रविभवनबाट कलंकी डेरा सर्दा उनीसँगै एउटा बिरालो पनि डेरा सरेको थियो । उनी घरमा छन् ? छैनन् ? बिरालोलाई थाहा हुन्थ्यो ।
विसं २०४८ मा दाङकी तक्मा केसीसँग सेनको विवाह भयो । तर, १५ दिनमै ‘डिभोर्स’ को कुरा चल्यो । तर, ‘डिभोर्स’ चाहिँ भएन । सायद उनी भूमिगत राजनीतिमा जोडिन चाहन्थे । परिवारको त्यस्तो चाहना थिएन । उनकी एउटा छोरी पनि छन् ।
विसं २०५३ मा सेन र ज्ञवाली काठमाडौंको एउटै घरमा बस्थे । सेन एक दिन रत्नपार्कतिर जाँदै थिए– बसमा, असाध्यै भीड थियो । भीडमा एक गर्भवती महिला पनि थिइन् । ती महिलाले अचानक कसैको पर्स झिकिछन् । मान्छेहरूले ती गर्भवतीलाई पिट्न थाले । सेन ती दोजिया महिलालाई बचाउन कस्सिए । तर, मान्छेहरू सेनमाथि नै खनिए । महिलाप्रति असाध्यै संवेदनशील थिए सेन । सेनलाई हामीले किन सम्झिने ? किनभने उनी एक जुझारु पत्रकार थिए नै, संवेदनशील कवि पनि थिए । हाइस्कुल पढ्दै साहित्यमा रुचि थियो । विसं २०३३ मा ‘मातृभूमि’ साप्ताहिकमा उनको कविता छापिएको थियो– ‘भोलिप्रति’ शीर्षकको । यही कविता थियो काव्य–यात्राको आरम्भ ।
प्रगतिवादी साहित्यमा आफू होमिने प्रेरणा सेनले साहित्यकार नारायणप्रसाद शर्माबाट पाएको लेखेका छन् । ३० को दशकदेखि जीवनपर्यन्त लेखनमा सक्रिय सेनले आफ्नै भोगाइ, सामाजिक परिवेश, जनताको दुःख र आवाज लेखे । विसं २०३५ सम्म ‘भोलिप्रति’, ‘एउटा लाहुरेको घर फर्कने अठोट’, ‘नयाँ साल समयको हस्ताक्षर’ जस्ता कविता अखबारहरूमा छापिइसकेका थिए । जब उनको जीवनमा कविता प्रवेश गर्यो तब उनी ‘इच्छुक’ भए ।
विसं २०४८ मा इच्छुकको पहिलो कविता–किताब ‘शोकाञ्जलि’ प्रकाशित भयो । विसं २०४२ मा विद्यार्थी नेता मित्रमणि आचार्यको हत्यापछि ‘इच्छुक’ मा उब्जेको विचार र भावनाको लहरले त्यो कृति जन्मायो । ‘शोकाञ्जलि’ माथि इच्छुकले लेखेका छन्, ‘सहिद मित्रमणि आचार्यसितको वैचारिक मित्रता, सांगठनिक हार्दिकता, आत्मीयता, म जेल छँदा उनले मलाई लेखेका भावपूर्ण दुई चिठी र सबैभन्दा महत्त्वपूर्ण कुरो त एकाएक उनको दुःखद हत्याको तीतो खबरले मेरो व्याकुल हृदयमा परेको असह्य बज्रप्रहार नै यो ‘शोकाञ्जलि’ को मूल कारण र त्यसको पृष्ठभूमि हो ।’
‘शोकाञ्जलि’ मित्रमणिप्रति एक काव्य हो । यसमा कविको हृदय चर्केर आँसु दर्केको छ । ‘इच्छुक’ को दोस्रो किताब ‘इतिहासको यस घडीमा’ (२०५६) मा विसं २०३८ देखि २०५५ सम्म लेखिएका कविता छन् । देशको व्यथा, जनताको दारुण जीवन ती कवितामा अंकित छन् । इच्छुकले जनताको आक्रोश, विद्रोह र मुक्तिको चाहनामाथि गम्भीर विमर्श गरेका छन् । ‘इच्छुक’ को तेस्रो किताब ‘बन्दी र चन्द्रागिरि’ (२०५७) उनले भद्रगोल जेलमा छँदा लेखेका हुन् । यो किताबमा लामा कविता समावेश छन् । बन्दी जीवनको एकांगी दिनमा चन्द्रागिरि पहाडसँग कविको गहिरो प्रेम छ । कवितमा चन्द्रागिरि पहाडलाई साक्षी राखेर उनी प्रकृति, त्याग, बलिदान, निष्ठा, राष्ट्रियता र बन्दी जीवनसँग संवाद गर्छन्–
आजको यो कुरुप धर्ती / मानव जातिको सुन्दर बस्तीमा बदलिन सक्ने छैन /तबसम्म जारी रहनेछ सुन्दर संसार निर्माण गर्ने हाम्रो संकल्पको यात्रा ‘इच्छुक’ का कवितामा छन्– नयाँ यथार्थ, नयाँ मूल्य र नयाँ सौन्दर्यचेतना । विशेषतः वस्तु, वर्ग, युग, भाव, लय र भाषा सौन्दर्यको मेलले उनका कविता सलल बगेका छन् । गद्यमा पनि उनी उत्तिकै सशक्त छन् । पत्रलेखन, निबन्ध र उनले अनुवाद गरेका थुप्रै रचना हाम्रैअघि छन् । ‘इच्छुक’ मृत्युसँग नझुक्ने कवि हुन् । पञ्चायतविरुद्धको यात्रा र यातना शिविरहरूबाटै लेखे तमाम कविता–कृति ।
राजनीतिमा प्रवेश
हाइस्कुल पढ्दैदेखि राजनीतिप्रति सेनको रुचि थियो । विसं २०३४ मा नेकपा (चौम) को भ्रातृ संगठन अनेरास्ववियुमा आबद्ध भएसँगै विद्यार्थी आन्दोलन र राजनीतिमा जोडिए । विसं २०३६ को जनउभारपछि पञ्चायती निरंकुशताविरुद्धको आन्दोलनमा मुठी कसेर सडकमा निस्किए । तीनै मोर्चाहरूमा परिवर्तनको लक्ष्य राखी क्रमशः नेकपा (मशाल), नेकपा (एकता केन्द्र) र नेकपा (माओवादी) मा आबद्ध भए ।
अनेरास्ववियु केन्द्रीय संयोजक, अखिल नेपाल जनसांस्कृतिक संघ (हाल महासंघ) को केन्द्रीय अध्यक्ष र पार्टीको क्षेत्रीय ब्युरो सदस्य भए । तर, पार्टीले केन्द्रीय सदस्यमा प्रस्ताव गर्दा पनि अस्वीकार गरे । इच्छुक भन्थे, ‘म त कलमको सिपाही हुँ । क्रोस्टोफर कडवल होइन, म्याक्सिम गोर्की बन्न चाहन्छु ।’
इच्छुकको प्रेरणाले धेरै मान्छे युद्ध र राजनीतिमा लागे । युद्धका मोर्चाहरूमा होमिए । जब प्रियजनहरूको बलिदानको खबर सुन्थे, इच्छुक बेचैन हुन्थे । एकान्तमा रुन्थे– धेरैबेर, भक्कानिन्थे । कोमलता, भाबुकता उनको रगतमै बहन्थ्यो । ती संकटका दिनहरूमा पनि आस्था, विचारप्रति प्रतिबद्ध थिए । विचलन उनको स्वभाव होइन । निर्दलीय व्यवस्थाका भयानक यातनाका दिनहरूमा पनि संघर्षशील रहिरहे उनी । र, मृत्युपर्यन्त संघर्ष गरिरहे इच्छुकले ।
उद्देश्यमुखी पत्रकारिता
असलमा इच्छुकको निजी छनोट थिएन– पत्रकारिता । परिस्थिति र आवश्यकताले जुराएको पेसा थियो त्यो । साप्ताहिक पत्रिका ‘योजना’, ‘महिमा’, ‘जनआह्वान’ र ‘पृष्ठभूमि’ सँग उनको अटुट सम्बन्ध रह्यो । इच्छुकले ‘जनदिशा’ (दैनिक), ‘जनादेश’ (साप्ताहिक) र ‘कलम’ (साहित्यिक त्रैमासिक) मा मुख्य सम्पादक भई उद्देश्यमूलक पत्रकारितामा इँटा थपे । पैसा–जनशक्ति अभाव, प्रेसमाथि राज्यको दमन, प्रशासनको तारोबीच पनि निडर र निर्भीक पत्रकारिता गरिरहे उनले । राजतन्त्रकालमा बारुदको धूवाँभित्र समाजको असली तस्बिर कोर्नु उति सजिलो थिएन । कर्फ्यु, निषेधाज्ञा र बन्दुकबीच जनताका पक्षमा लेखिरहनु भयानक साहस हो । इच्छुकले त्यो साहस गरे ।
बन्दी जीवन र शहादत
पञ्चायती शासनका बेला पटकपटक गिरफ्तार भएर चारचोटि जेल परेका इच्छुकले यातनाका कैयौं शृंखला झेले । दुई दशकसम्म राज्यको दमन र कोपभाजनमा परे । पहिलो पटक विसं २०३५ मा दाङको जेल बस्दा विचारमा दृढ भए र इस्पात बनेर निस्किए । विद्यार्थी राजनीतिमा छँदा २०३९ वैशाखमा क्याम्पसबाट पुनः गिरफ्तार भए । लगातार सवा पाँच वर्ष दाङको जेल बसाइपछि २०४४ मा रिहाइ भए ।
२०४६ को परिवर्तनसँगै साहित्य र पत्रकारितामा झन् सक्रिय भए । २०५२ फागुन १ मा ‘जनयुद्ध’ सुरु भएपछि इच्छुक निगरानीमा थिए । २०५५ पुस १९ गते ललितपुर भट्टेडाँडामा माओवादीले प्रहरी चौकी आक्रमण गरेको समाचार ‘जनादेश’ ले फोटोसहित छाप्यो । त्यसको सम्पादक रहेका इच्छुक २०५६ वैशाख ६ मा समातिए । राज्यले खरखजना तथा हातहतियारसम्बन्धी मुद्दा लगाएर सिरहा जेल पठायो । उनका २२ महिना आँसुमा भिजे । तर, त्यो आँसु आक्रोश र प्रतिरोधमा बदलियो ।
२०५८ मङ्सिर ११ मा राज्यले संकटकाल लगायो । देशैभर गिरफ्तारीको उर्दी गर्यो । युद्धका असजिला दिनमा आक्रमण–प्रत्याक्रमणका शृंखलाहरू अनगिन्ती थिए । त्यसक्रममा भूमिगत राजनीतिसँग जोडिएर काठमाडौं कार्यक्षेत्र हुँदा इच्छुकलाई अन्तिम पटक २०५९ जेठ ६ मा बत्तीसपुतलीबाट गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा हुलियो । जेलको बसाइ न हो, ज्यानको के भरोसा हुन्छ र ? जेलमा कुनै चैन हुँदैन । इच्छुकलाई पनि जीवन–मृत्युको दोसाँधमा अज्ञात भयले ऐंठन पारिरह्यो । तर, कहिल्यै मूर्च्छनामा परेनन्, बरु त्यो बन्धन चुँडाल्न प्रयास गरिरहे, जीवनसंगिनीलाई ‘अशेष प्यार’ को पत्र लेखे । चाहे पर्खालभित्र होस् वा बाहिर उनी बोलिरहे, लडिरहे । प्रहरी केरकारमा इच्छुकले अन्तिम पटक भनेका थिए, ‘तपाईंहरूले मलाई पिटेर केही पनि सूचना प्राप्त गर्न सक्नुहुन्न ।’ आखिर कुटपिट र चरम यातनापछि जेठ १३ गते प्रहरी हिरासतमै इच्छुकको मृत्यु भयो । स्वभावैले पीडादायी हुन्छ– जेल । मस्तिष्क स्थिर हुन्छ, मानसिक तनाव र भौतिक यातनाले मूर्च्छित पार्छ ।
विचारमा दृढ, लक्ष्य र राजनीतिमा प्रतिबद्ध एक योद्धा थिए– कृष्णसेन । र, थिए– विलक्षण प्रतिभा र बहुआयामिक व्यक्तित्वले भरिपूर्ण । जीवनका फाँकीहरूमा राजनीति, संस्कृति, पत्रकारिता र साहित्यको अटुट सम्बन्धले उनीभित्र कठोर राप र ताप होइन वर्गप्रेमको सागर छचल्किरह्यो । वर्गप्रेमको त्यही सागरमा लहरिएर जीवनरूपी कल्पना, यथार्थ भावना, भाषिक गहिराइ र शब्दको पौलमा मान्छेको मुक्तिका गान र दुःखीजनका कविता लेखे । समयसँग संवाद गर्ने कवि हुन– इच्छुक, कलाचेत र सौन्दर्यचेतको उच्चतम नमुना । समाज र मान्छेको जीवनसँग गाँसिएको, शब्द र कर्मको आदर्शका एक असल पात्र । यसरी इच्छुकलाई हमेसा पढ्न सकिन्छ । जीवन र जगत्सँग जोडिएका पात्रहरूलाई सृजनामा उतार्दा–उतार्दै इच्छुक स्वयं त्यसका पात्र बने ।
‘इच्छुक’ को आदर्श जीवनले सिकाएको एक महत्त्वपूर्ण पाठ हो– जेल, यातना, बन्दुक र संगीनको घोचाइले पनि सुकाउन नसक्ने रहेछ, परिवर्तनको प्रवाह र सृजनाको मुहानलाई । कान्तिपुरबाट