८५ करोड मानिसलाई गरिवीबाट मुक्त गरेको चीनले चार दशकमा गरेको चमत्कार (फिचर) – Janadesh Daily | ePaper

८५ करोड मानिसलाई गरिवीबाट मुक्त गरेको चीनले चार दशकमा गरेको चमत्कार (फिचर)


जनादेश विशेष ।

चीनले जनवादी गणतन्त्र चीन स्थापना भए यता ८५ करोड मानिसलाई गरिवीबाट मुक्त गरेको जानकारी राष्ट्रसंघमा दिएको छ ।

संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि च्याङ च्युनले संयुक्त राष्ट्रसंघको ७५ औं महासभाको तेस्रो समितिमा चीनको मानवअधिकारमा ऐतिहासिक उपलब्धिहरू सुनाउने क्रममा यी जानकारी दिए ।

च्याङले नयाँ चीन स्थापनाको ७१ बर्षमा चीनले मानव अधिकारको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको बताए । चीनले जनतालाई केन्द्रमा राखेको र १ अर्ब ४० करोड जनसंख्याको गाँस बास र कपासको सुनिश्चितताका लागि लागिरहेको उनले बताए ।

यो अवधिमा ८५ करोड जनतालाई गरिवीबाट मुक्त गरेको जानाकारी दिएका उनले चीनले जीवनको सर्वोच्चततालाई जोड दिने, महामारी रोकथाम र कडा उपाय अपनाएको पनि बताए ।

खुलापन र सुधार अँगालेको चीनले चालीस वर्षमा अथाह विकास गरेको छ ।

चार दशकको चमत्कार/उदाहरणीय हाङचौ
चीनको पूर्वमा रहेको चच्याङ प्रान्त चीनकै सबैभन्दा समृद्ध प्रान्तमा पर्छ। यसको सदरमुकाम हाङचौ हो जसलाई सूचना प्रविधिमा विश्वकै अग्रस्थानमा रहेको सहर पनि भनिन्छ। शाङहाईसँग जोडिएको चच्याङ प्रान्तको आन्ची काउन्टीको यु ग्रामीण क्षेत्रको विकास चीनका लागि मात्र होइन विश्वकै विकासका लागि अनुकरणीय रहेको छ। विकाससँगै पर्यावरणीय संरक्षणले विश्वमै नमूना बनेको यु गाउँ दुई दशक अगाडिसम्म अत्यन्त पीडादायी र विकराल अवस्थाबाट गुज्रिएको थियो।

सन् १९९० को दशकमा चच्याङ प्रान्तको आन्ची काउन्टी अन्तर्गत यु गाउँमा भयङ्खर औद्योगिक विकास भएको थियो। त्यहाँ तीनवटा मार्लवका खानीसँगै एउटा विशाल सिमेन्ट कारखाना थियो। अन्धाधुन्द औद्योगिक विकासले त्यहाँको पर्यावरणीय सभ्यता ध्वस्त भयो। त्यहाँको वातावरण यति प्रदूषित थियो कि त्यहाँका नदीमा पानी पनि कालो रङको बग्दथ्यो।

औद्योगिक विकासले आन्ची काउन्टीको आर्थिक अवस्था त उकासियो तर अत्यधिक प्रदूषणले कुख्यात पनि उत्तिकै भयो। सन् १९९७ मा आन्ची काउन्टी र यु गाउँ चीनकै सबैभन्दा प्रदूषित स्थानका रुपमा चिनिन थालेका थिए।

आन्ची काउन्टीबाट बगेका नदीहरु चच्याङ प्रान्तको चियाङसिङ भएर बग्दथे। चियाङसिङलाई चच्याङकै माछा र अन्नको भण्डार मानिन्थ्यो। तर, आन्चीको सिमेन्ट कारखाना र मार्वल कारखाना लगायतका अन्य औद्योगिक फोहोर बोकेर आएका नदीहरुले चियाङसिङलाई कालाम्मे बनाउँदै लग्यो। आफ्नो क्षेत्रको यस्तो दुर्दशा देखेर सन् २००१ को नोभेम्बरमा चियाङ्सिङका एक हजार किसानले डुङ्गा लिएर नदीको सरसफाइ सुरु गरे। नदीमा बग्ने कालो र पहेँलो दुर्गन्धित पानीले आफ्नो क्षेत्र पूरै प्रदूषित भएको ठानेर किसानहरु दिक्क हुँदै नदी सरसफाइमा होमिएका थिए।

सन् २००२ देखि २००७ सम्म वर्तमान चीनका राष्ट्रपति सी चिनफिङ चच्याङ प्रान्तको सचिव सचिव थिए। सन् २००५ को अगष्ट १५ तारिख सीले यु गाउँको अनुगमन गरे। त्यतिबेला यु गाउँका सचिव थिए पावो सिनमिन। पहिले घना बाँसघारी र अथाह पानीको स्रोत भएको सो काउन्टीले फेरि त्यसको संरक्षण गरेर पहिलेकै अवस्था फर्काउने प्रयास गरेको थाहा पाएपछि पावो सिनमिनलाई सीले भनेका थिए ‘तिमीले मार्वलका खानी उत्खननलाई बन्द गरिदियौ जसले गर्दा स्वच्छ पानी र हरियाली पहाडहरु सुन र चाँदीका रुपमा देखिएका छन्।’ सीको यही भनाइ एउटा दर्शनशास्त्र बन्यो र चीनका विकासमा लागू हुन थाल्यो।

सन् २०१३ को मार्चदेखि चीनका राष्ट्रपति रहेका सी सन् २०१५ मा फेरि चच्याङ प्रान्तको आन्ची काउन्टीको यु गाउँमा पुगेका थिए। त्यहाँ पुगेर उनले दसवर्ष पहिले आफूले बोलेको कुरा फेरि दोहोर्‍याए। पहिले प्रान्तीय सचिवले बोकेको कुरा प्रान्तमा मात्र लागू हुन सक्थ्यो तर राष्ट्र प्रमुखका रुपमा सीले बोलेपछि यो समग्र चीनकै कार्यक्रम बन्यो। विकास निर्माणका योजना बनाउँदा यसलाई एउटा दर्शनका रुपमा अपनाउन थालियो। फलतः वातावरण संरक्षणमा चीनले निकै ठूलो प्रगति हाँसिल गरेको छ।

चच्याङ प्रान्तको समृद्धिसँगै डेढ दशकमै आन्ची काउन्टीको यु गाउँ फेरि सबैभन्दा धनी गाउँ बनेको छ। र यु गाउँ चीनका यस्तै हजारौं अन्य गाउँ जस्तै एक उदाहरणमात्र हो ।

भौतिक पूर्वाधारको विकास त पछिल्लो दुई दशकमा विश्वलाई आश्चर्य बनाउने खालको छ । वातावरण संरक्षण र दिगो विकासका लागि चिनियाँ दर्शन नै बनेको छ ।

यो पनि हेर्नुस्- चीनका पहाडमा यसरी हुँदै रेल र रोडको विकास (फोटो फिचर)

चीनमा गरिवी निवारणको चमत्कारः यसरी धनी बन्दैछन् विपन्न गाउँहरु (तस्विर सहित)

नेपालकै छेउँमा चीनले यसरी एकसाथ गर्दैछ संस्कृति संरक्षण र विकास (फिचर) 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्