ओलीले घोषणा गर्न लागेको सर्पराइज यही त होइन ! निरु पालले फेरि गरिन् आग्रह – Janadesh Daily | ePaper

ओलीले घोषणा गर्न लागेको सर्पराइज यही त होइन ! निरु पालले फेरि गरिन् आग्रह


जनादेश वाच ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी अगाडि आमसभा गर्दैछन् । उनले ठूलै घोषणा गर्ने प्रचार ओली समूहले गरिरहेको छ ।

ओली समूहका नेता एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले ओलीले नारायणहिटी अगाडिबाट नयाँ खुलासा गर्दैछन् । तर, त्यो ‘नयाँ खुलासा’ उनलाई पनि थाहा नभएको बताएका छन् । ओलीले आमसभाबाटै भन्नेछन् ।

प्रचण्ड माधव पक्षका नेता सुरेन्द्र पाण्डेले ओलीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न लागेको आरोप लगाएका छन् ।

ओली सरकारले विप्लव माओवादीमाथिको प्रतिबन्ध फुकुवा गर्ने निश्चित रहेको बताइएको छ । तर ओली समूहकी एक सदस्यले गरेको पछिल्लो आग्रहले भने ओलीले संघीयतामाथि नै प्रहार गर्ने हुन् कि भन्ने आशंका गरिएको छ ।

विघटित प्रतिनिधिसभा सदस्य निरुदेवी पालले संघीयता खारेजीका लागि फेरि एकपटक प्रधानमन्त्री ओलीलाई आग्रह गरेकी छिन्।

नेकपा ओली समूहकी नेतृ पालले सानो मुलुक नेपालले संघीयताको भार थेग्न नसक्ने भएकोले स्थानीय सरकारलाई बलियो बनाउँदै प्रदेश संरचना खारेज गर्न आग्रह गरेकी हुन्।

उनले संघीयता सेतो हात्ती भएको उल्लेख गर्दै यसको खारेजीको मुद्दा लिएर जनतामा गए राम्रो हुने सुझाव पनि प्रधानमन्त्री ओलीलाई दिएकी छन्।

प्रधानमन्त्री ओलीले आज काठमाडौँमा हुन जनसभालाई सम्बोधन गर्दै छन्। उक्त सभाको पूर्वसन्ध्यामा प्रधानमन्त्री निकट नेतृ पालले संघीयता खारेजीको मुद्दा लिएर चुनावमा जानुपर्ने सुझाव दिएकी हुन्।

बिहीबार साँझ पालले फेसबुकमा लेखेकी छिन्, ‘ सम्माननीय प्रधानज्युलाई फेरिपनी मेरो अनुरोध छ। मलाई पार्टीले कारबाही गरे पनि गरोस् कुनैदिन टिकट पाएछु र जनताले हराए छन् भने पनि ठिकै छ सहुँला तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकामा विदेसीको ऋण छ तसर्थ प्रधानमन्त्रीज्यु यो संघीयता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन मुठ्ठीभर नेता त खुसी छौं कोही मुख्यमन्त्री कोही प्रदेश मन्त्री कोही सांसद छौं। तलब भत्तामै देशको ढुकुटी नसिध्याऔं। जनताले चाहेको अधिकारको विकेन्द्रीकरण हो बरू स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं जनताको घरदैलामा सर्वसुलभ ढंगले सेवा पुर्‍यायौं। तर प्रदेश सरकार खारेज गरौं। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं। सम्माननीय प्रधानमन्त्रीज्यु, तर हाम्रो मुलुकले यत्रो तामझाम व्यहोर्न सक्दैन नेताहरूको सुरक्षा पनि कटौती गरौं सम्माननीय प्रधानमन्त्रीज्यु यही एजेन्डा लिएर जनतामा जाँदा राम्रो हुनेछ। मेरो अनुरोध हजुरलाई।’

 

 

पालले यसअघि पनि प्रधानमन्त्रीलाई संघीयता खारेजीका लागि हिम्मत गर्न आग्रह गरेकी थिइन्।

यो पनि हेर्नुस्- 

ओलीको आमसभा, १६ स्थानबाट जुलुस, यस्तो छ ‘टी’ आकारको सभास्थल खोज्नुको रहस्य

दिल्ली र दक्षिणपन्थीको उक्साहटमा संसद विघटन गरिएको भन्दै प्रचण्डको संकेतः राजनीति ग्रिपबाट बाहिर

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्