प्रतिबन्ध हटाएर वार्ताको तयारी, के विप्लव समूह ओली सरकारमा जान तयार भएको हो ! – Janadesh Daily | ePaper

प्रतिबन्ध हटाएर वार्ताको तयारी, के विप्लव समूह ओली सरकारमा जान तयार भएको हो !


जनादेश विश्लेषण ।
सरकार र दुई वर्षदेखि प्रतिबन्धित रहँदै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ता र संवादको सुरुवातका संकेत देखा परेका छन् ।

सरकारले उक्त समूहमाथिको प्रतिबन्ध फुकुवा गर्न लागेको छ भने विप्लव नेकपाले पनि आफू सरकारसँग सम्वाद र वार्ताको लागि तयार रहेको बताएको छ ।

नेकपाभित्रको विवादले उग्ररुप लिँदै गर्दा भएको प्रतिनिधिसभा विघटनविरुद्धको टुंगो सम्भवतः आगामी साताभित्र लाग्दै छ । प्रधानमन्त्री ओली सबै मोर्चामा इतिहासकै कमजोर बनेका छन् ।

ओलीले प्रतिबन्धित विप्लव समूहसँग निकटताको सम्बन्ध कायम गर्न खोजेका छन् । ओलीले शनिबार नै विप्लवमाथिको प्रतिबन्ध हटाउने तयारी गरेका थिए । तर अन्तिम समयमा आएर उक्त तयारी रद्ध भएको बुझिएको छ ।

ओलीले प्रतिबन्ध हटाउने विप्लव समूहका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेर एउटै समयमा संवादको घोषणा गर्ने सहमति भएको पनि श्रोत बताउँछन् । त्यसैकारण शनिबार नै विप्लवले विज्ञप्ति निकालेका थिए ।

सरकारसँग हालै भएको गोप्य वार्तामा उक्त पार्टीका तर्फबाट विप्लव या उनले सुझाएका प्रतिनिधि प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिमण्डलमा जाने सहमतिसमेत भएको सरकारी उच्च स्रोतले दाबी गरेको छ ।

के विप्लव समूह सरकारमा जान तयार भएकै हो ?
जानकारहरुका अनुसार विप्लव समूहले सरकारमा जाने प्रतिबद्धता रणनीतिक योजना अनुसार गरेको हुनसक्ने बताउँछन् ।

अहिले पार्टी प्रतिबन्धित अवस्थामा रहेको पार्टी फुकुवा हुने र कार्यकर्ता रिहाई पछि सार्वजनिक अभियान चलाउन सहज हुने भएका कारण पनि विप्लव समूहले सरकारमा सहभागी हुन तयार रहेको सन्देश दिइरहेको बताइन्छ ।

पार्टीमाथिको प्रतिबन्ध फुकुवा गराउन र कार्यकर्ता रिहाईमा सफल भए यसले राजनीतिक उपलब्धि हासिल गर्न सहज हुने विप्लव समूहको विश्लेषण छ ।

ओलीको रणनीति प्रचण्डलक्षित
प्रतिनिधिसभा विघटनपछि २ नम्बर प्रदेश प्रमुखको बर्खास्ती र अन्य प्रदेशसभा विघटनको चुनौतीसँगै देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकको राजनीतिमा तीव्ररुपमा नयाँ ध्रुवीकरण शुरु भएको देखाउँछ । प्रधानमन्त्री ओलीले विप्लवसलाई साथ लिएर पुष्पकमल दाहाल प्रचण्डलाई कमजोर पार्न चाहेका छन् ।

सरकार र विप्लव समूहबीचको सहमतिमा हालै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्यागी ओली सरकारमा गएका खानेपानी मन्त्री मणि थापाले सक्रिय भूमिका खेलेको स्रोतले बतायो।

स्रोतले भन्यो,‘ विप्लवले सरकारमा आउने सहमति गरिसकेका छन्। यसमा मणिचन्द्र थापाको महत्वपूर्ण भूमिका छ।’ मन्त्री थापाले १८ दिन अघि नख्खु जेलमा पुगेर यो पार्टीका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई भेटेका थिए।

वलीले मन्त्री थापालाई स्वागत गरेका थिए। सुदर्शनसँग खिचेको आफ्नो तस्बिर थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

संवादकै समन्वय गरिरहेका अर्का शीर्ष नेता धर्मेन्द्र बाँस्तोला गत पुस २९ गते पक्राउ परेका थिए । सरकार र चन्द पक्षबीच संवाद चलिरहेको विषयमा समन्वय नभएकाले उनी पक्राउ परेको र छिट्टै छुट्ने दुवै वार्तालाई नजिकबाट हेरिरहेका दुवै पक्षको भनाइ छ । बाँस्तोलाका छोरी र ज्वाइँसमेत ओली नेतृत्वको नेकपामा खुलिसकेका छन् । केही दिनअघि उनीहरूले बालुवाटारमा गएर प्रधानमन्त्री ओलीलाई भेटेको फोटो सार्वजनिक गरेका थिए ।

त्यसपछि सरकारबीच यो पार्टीको अनौपचारिक संवाद भइरहेको चर्चा चलेको थियो। शनिबार जारी वक्तव्यमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको उल्लेख छ।

यो पनि हेर्नुस्_

 टुँडीखेलमा आमने-सामनेः ओलीले हेप्न खोजेपछि उपराष्ट्रपतिको पनि कडा जवाफ 

ओलीलाई बाबुरामको प्रश्नः सेटिङ कसले गर्छ? यस्ता व्यक्ति प्रधानमन्त्री रहन मिल्छ ?

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्