कर्णाली ।
वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीले सत्याग्रह स्थगित गर्नुभएको छ । उहाँले आज प्रेश विज्ञप्ति जारी गरी जुम्लामा पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै पुन ः सत्याग्रह स्थगित भएको जनाउनु भएको हो ।
उहाँले गत साउत ३२ गते पत्रकार सम्मेलन गरी यही भदौ ११ गतेदेखि जुम्लामा अनशन बस्ने घोषणा गर्नुभएको थियो । उक्त दिनसमेत सत्याग्रह बस्ने वातावरण नमिलेपछि स्थगित गर्नुभएको थियो । विज्ञप्तिमा भनिएको छ, “कोराना महामारी फैलिँदै जाँदा जुम्लावासीको विशेष आग्रहलाई मध्यनजर गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरेका छु । सरकारले आफूले राख्दै आएका माग पूरा नगरेको खण्डमा कुनै पनि बेलामा सत्याग्रह बस्ने जानकारी गर्दछु ।”
उहाँले विज्ञप्तिमार्फत यस जोखिम अवधिमा निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियमिति सेवा सुविधाका साथै जोखिम भत्ता दिलाउन सरकारलाई ध्यानाकर्षण समेत गराउनुभएको छ ।
सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमडिजिपी इन जनरल प्राटिक्स, एमडी इन एनेष्थेसिया, एमडी इन पेडियाट्रिक्स गरी तीन विधामा स्नातकोत्तर तहको पठनपाठनको स्वीकृति प्रदान गरेको गरिसकेको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले तीन विधाका पाँच सिटमा विशेषज्ञ चिकित्सा शिक्षा यही शैक्षिक वर्षभित्र अध्ययन अध्यापन हुने बताउँदै केही महिनापछि एमबिबिएस पढाइ हुने जानकारी दिनुभयो । रासस