कांग्रेस महाधिवेशनको बहस : विचार वा नेतृत्व ? – Janadesh Daily | ePaper

कांग्रेस महाधिवेशनको बहस : विचार वा नेतृत्व ?


जनादेश, काठमाण्डौ ।

२०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको नेपाली कांग्रेसमा पछिल्ला दिनमा भावी नेत्तृव कसले हात पार्ने भनेर रस्साकस्सी शुरु भैसकेको छ ।

सक्रिय कार्यकर्ताको सूची समेत तयार नभएको अवस्थामा अबको ६ महिनामै महाधिवेशन सम्पन्न हुन्छ भन्न जटिल भएपनि संस्थापन इतरका नेता कार्यकर्ता पार्टीलाई बचाउन नयाँ नेतृत्वले काँध थाप्नुपर्ने भन्दै सभापति शेरबहादुर देउवामाथि मनोवैज्ञानिक दबाब दिन शुरु गरेका छन् ।

तर २०७६ को फागुन महिनामा नै महाधिवेशन गर्नुपर्ने भएपनि मिति गुज्रेपछि सभापति देउवाले आफु निकट नेता कार्यकर्ता तथा संभावित महाधिवेश प्रतिनिधिलाई छानेर विभिन्न विभाग गठन गरेका छन् । यसरी गठन गरिएका विभागप्रति पार्टीकै नेताहरुले कटाक्ष गरेपनि सभापति देउवा पछि फर्कने कुनै गुञ्जायस देखिन्न ।

संस्थापन बाहेक पनि पार्टीमा बलियो पकड कायम गरेका रामचन्द्र पौडेल, कृष्ण सिटौला, शेखर कोइराला लगायतका नेतालाई लत्याउदै हालै मात्र सभापति देउवाले आफु निकट मानिने एनपी साउँदको नेतृत्वमा कांग्रेस शुभेच्छुक संस्था समन्वय विभाग गठन गरि ४८ जनाको मनोनयन सार्वजनिक गरे ।

त्यसको केही अघि मात्र उनले पार्टीमा बलियो मानिने सूचना, संचार तथा प्रचार विभागको गठन गरि पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा लाई जिम्मेवारी दिए । उक्त विभागमा नेपालमा नाम चलेका पत्रकारलाई समेत मनोनयन गरेर देउवाले आगामी महाधिवेशनमा पनि आफु नै नेकाको निर्विकल्प नेतृत्व लिने व्यक्ति भएको सन्देश प्रवाह गरेका छन् ।

विगतदेखि नै घाम झै स्पष्ट रहेको तथ्य के हो भने नेकाको महाधिवेशनमा विचारको बहस विरलै हुन्छ । नेताहरु केवल कुन गुटलाई बलियो पार्ने र नेतृत्व कसरी हत्याउने भन्नेमा केन्द्रित रहँदा देशको सबैभन्दा पुरानो पार्टीभित्रको बेथिती छताछुल्ल देखापर्छ ।

शुक्रबार राजधानीबाट प्रकाशन हुने एक दैनिक पत्रिकामा नेका नेता अर्जुननरसिहं केसीले कांग्रेसलाई परिवर्तन, सुसंगठित र जागरुक बनाएर आफ्नो कार्यकालमा कहाँ पुर्याउने भन्ने एजेन्डा, योजना, संकल्प र लक्ष्यको ब्लुप्रिन्टसहित प्रस्तुत हुने विषयमा सर्वत्र सन्नाटा छ भनेर टिप्पणी लेखेका छन् । केसीको विचारले नेका अहिले दिशाहिन र गतिहिन मात्र होइन भविष्यका लागि पनि आफ्नो गन्तव्य तय गर्न चुकेको आभाष मिल्छ ।

यति समस्या र चुनौतीका पहाडले घेरिदा पनि वर्तमानमा नेका लोकतन्त्रवादी दल भनेर मन्त्र जपेको छ । नेकाले राष्ट्र, राष्ट्रियता, परराष्ट्र नीति, आर्थिक विकास र आन्तिरक लोकतन्त्रमा विरलै छलफल गरेको छ । झन कोरोना महामारीपछि हाम्रो भुराजनीति, विकास र विश्वकै शक्ति सन्तुलनमा बृहत परिवर्तन हुन लागि रहेको समयमा नेकाको महाधिवेशन हुदैछ तर यी कुनै पनि विषयमा नेका नेतृत्व वा आम कार्यकर्ताको गम्भिर ध्यान केन्द्रित छ ।

तसथै पनि नेकामा यी सवै विषयमा आफ्नो सपाट धारणा निर्माण गर्न र त्यसको नेतृत्व ग्रहण गर्न सक्ने टिमको अपेक्षा छ । तर अहिले नै नेतृत्वको दाबी गरिरहेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शेखर कोइराला वा अन्यले पनि उक्त अपरिहार्यतालाई अत्यन्तै कम ध्यान दिएको स्पष्टै देखिन्छ ।

यद्यपि शुभेच्छुक, कार्यकर्ता र राष्ट्रको अपेक्षा भने नेकाको नयाँ नेतृत्वले यी सबै मुद्दाहरुमा गहिरो गरि आफ्नो धारणा अभिव्यक्त गरोस र एक गौरवशाली दलको निर्माण होस् भन्ने नै हो । उनीहरु नेकाको अहिलेको प्रतिकृयात्मक राजनीतिबाट दिक्क मात्र छैनन् आफ्नै दलको नेतृत्वप्रति दिक्दारी व्यक्त गरिरहेका छन् ।

अब नेकाले केबल विगतमात्र नभई भविष्यमुखी भएर राजनीतिमा खटिनुपर्ने समयको टड्कारो माग हो भन्दा सान्र्दभिक नै ठहर्छ । तर उक्त दलको बाटो कता भन्नेमा निर्णय गर्न सो दलका आम कार्यकर्ता नै जागरुक बन्नु बुद्धिमतापुर्ण ठहर्छ ।

यसकारण पनि नेकाले अबको महाधिवेशनमा विचार प्रधान भएर अगाडि बढोस् भन्ने सबैको शुभेच्छा नै छ जुन नेकाले आत्मसात गरोस् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्