डरलाग्दो संकेतः काठमाडौंसहितका स्थानमा समुदाय स्तरमै कोरोना संक्रमण – Janadesh Daily | ePaper

डरलाग्दो संकेतः काठमाडौंसहितका स्थानमा समुदाय स्तरमै कोरोना संक्रमण


जनादेश, काठमाडौं ।
नेपालमा कोरोना महामारी अनियन्त्रित बन्ने खतरा बढेको छ । सरकारले देशभर नभएपनि क्लष्टर अनुसार समुदायमै संक्रमण फैलिएको स्वीकार गरिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको पत्रकारसँगको भर्चुअल बैठकमा नेपालमा संक्रमण समुदायस्तरमा फैलिएसकेको र अहिले त्यो जिल्ला र स्थानीय तहमा रहेको बताइएको थियो ।

काठमाडौंमा पछिल्लो संक्रमणदरले समुदायस्तरमै कोरोना पुगिसकेको पुष्टि गरेको विज्ञहरुले बताएका छन् । कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दर अझै कम भएको विज्ञहरुको भनाई छ ।

गत सात दिनमा संक्रमण पुष्टि हुने पर्सेन्टेज पोजिटिभ रेट (पीपीआर) काठमाडौं उपत्यकामा औसत ११ दशमलव सात शून्य र देशभरको औसत ८ दशमलव ७ रहेको छ । पीपीआर ५ भन्दा माथि भए त्यसले संक्रमण समुदायस्तरमा व्यापक भएको वा परीक्षणको दायरा फराकिलो हुन नसकेको बुझाउने विज्ञको भनाई छ ।

संक्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सरेपछि दोस्रो चरणमा गएको हुन्छ। नेपाल यसअघि नै दोस्रो चरणमा प्रवेश गरिसकेको छ।

तथ्याङ्क अनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दहीलगायतका १२ जिल्लामा ५ सय भन्दाबढी संक्रमित छन् ।

मन्त्रालयका कोभिड–१९ का स्थानीय स्रोत व्यक्ति महेन्द्र श्रेष्ठले संक्रमण मुलुकभरि नै समुदाय (कम्युनिटी) ट्रान्समिसन फैलिनसकेको तर खासखास क्षेत्र (कलस्टर) तथा तहमा फैलिइसकेको बताए ।

नेपालमा मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म ४४ हजार २३६ जना संक्रमित भइसकेका छन् भने २५ हजार ५ सय ६१ जना निको हुँदा २ सय ७१ जनाको ज्यान गएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वीरगञ्ज, सर्लाही, काठमाडौँ ललितपुरलगायत जिल्लामा कलस्टर तहमा नै संक्रमण देखिएको पुष्टि गरे । ती ठाउँमा समुदायमा नै संक्रमण देखिएको हो वा होइन एन्टिबडी परीक्षणसमेत गरिने भएकाले यकिन तथ्यांक आएपछिमात्र भन्न सकिने उनले बताएका छन् ।

सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगनठको सहयोगमा समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्