रोहिणी र डुडुवाखोलाको कटानले बस्ती जोखिममा – Janadesh Daily | ePaper

रोहिणी र डुडुवाखोलाको कटानले बस्ती जोखिममा


राँझा, रासस :

बाँकेको रोहिणी र डुडुवाखोलाको कटानले कोहलपुर नगरपालिकाको तीन गाउँ जोखिममा परेका छन् ।

कोहलपुर नगरपालिका हुँदै बग्ने रोहिणी र डुडुवाखोलाको कटानका कारण सबैभन्दा बढी जानकी टोल, एकतानगर, चट्टारलगायतका गाउँ जोखिममा रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोहिणी र डुडुवाखोलाको बाढीका कारण कोहलपुर नगरपालिकाको वडा नं ७, ८, १०, ११, १२ र १३ गरी पाँच वडाका बासिन्दा प्रभावित हुँदै आएका छन् । खोलाको कटान रोकथामका लागि आवश्यक पहल गरिए पनि खोलाको बहावले धार फेर्दा बर्सेनि ठूलो क्षति हुँदै आएको छ ।

डुडुवा र रोहिणीखोलामा आएको बाढीले तीव्ररुपमा कटान गरिरहेकाले खोलाको छेउमा रहेको बस्ती जोखिममा परेको छ । बस्ती बचाउन नगरपालिकाले मात्रै नसक्ने भएकाले प्रदेश र केन्द्रीय सरकारलाई पनि सहयोगको लागि पहल गरिएको नगरप्रमुख रावतको भनाइ छ ।

केही दिनयता निरन्तर परेको पानीले कोहलपुर–१२ स्थित जानकीनगर टोल रोहिणीखोलाको तीव्र कटानले जोखिममा परेको स्थानीयवासी एवं कोहलपुर नगरकार्यपालिका सदस्य नारायणी वलीले जानकारी दिनुभयो ।

लगातारको वर्षाका कारण रोहिणी खोलामा आएको बाढीले करिब १५ मिटर कटान गरी बहाव परिवर्तन गरी बस्तीतिर फर्केकाले जोखिम बढेको वलीले बताउनुभयो । तीन मिटरको चौडाइमा रहेको रोहिणीखोलाले कटान तीव्र पार्दै अहिले १५ मिटरभन्दा बढी फैलिएको उहाँको भनाइ छ । खेतबारी बगाउँदै बस्तीतिर खोला सोझिएको स्थानीय खेमराज शर्माले बताउनुभयो ।

उहाँका अनुसार खोलाको कटानबाट जोगाउनका लागि तत्काल पहल गर्न नसकिए ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ । रोहणी र डुडुवाखोलाको तीव्र कटानका कारण जोखिममा परेका बस्ती जोगाउनका लागि तत्काल अस्थायीरूपमा तटबन्ध निर्माणकार्य शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

उहाँले नदीले कटान गरेको स्थानको स्थलगत अवलोकन गरी कटानलाई तत्कालका लागि रोक्न जिल्ला विपद् व्यवस्थापन समितिबाट बोरी र जालीको व्यवस्था गरी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको पहलमा तटबन्ध लगाउन शुरु गरिएको बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्