पोखरामा गुड्न थाले नगरबस – Janadesh Daily | ePaper

पोखरामा गुड्न थाले नगरबस


जनादेश पोखरा ।
My City - Pokhara's City Buses Equipped With GPS

पोखरामा आजदेखि नगर बस गुड्न शुरु गरेका छन् । कोभिड–१९, का कारण कायम रहेको बन्दाबन्दीले लामो समयदेखि रोकिएका सार्वजनिक सवारी साधन सरकारले आधारभूत मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएसँगै गुड्न शुरु गरेका हुन् ।

पोखरामा महानगरपालिकामा ३७८ नगर बसमध्ये आज करिब आधा नगरबस सञ्चालनमा आएका छन् । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले कोरोना जोखिमको आधारभूत मापदण्डलाई अपनाएर आज करिब आधा बस सञ्चालनमा आएका जानकारी दिनुभयो ।

गुरुङका अनुसार यसअघि लिइराखेको भाडा दरमा दोब्बर लिने गरी र एक सिटमा एक जना यात्रुमात्र राख्ने गरी बस सञ्चालन गरिएको हो । गाडी चालक, सहचालक यात्रु सबैले आधारभूत स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ ।

लामो समय गाडी नचलेपछि अधिकांश गाडी ग्यारेजमा थन्किएका छन् भने चालक, सहचालक आआफ्नो घर गएकाले पनि सबै गाडी सञ्चालनमा आउन अझै समय लाग्ने गुरुङको भनाइ छ ।

बस सञ्चालनको पहिलो दिन भएकाले यात्रुको चाप त्यति देखिएको छैन भने यात्रु सबैले मास्कको प्रयोग गरेका छन् । त्यसैगरी १२० दिने बन्दाबन्दी खुलेसँगै पृथ्वीराजमार्गअन्तर्गतका लामा छोटा दूरीका बस पनि अब चल्ने भएका छन् ।

पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसीले अब केही दिनमै लामाछोटा दूरीका सार्वजनिक बस सञ्चालन गरिने जानकारी दिनुभयो । केसीका अनुसार कास्कीमा पृथ्वीराजमार्ग अन्तर्गतका करिब एक हजार ४०० बस सञ्चालनमा छन् ।

पोखरेली ट्याक्सी सेवा प्रालीका अध्यक्ष प्रकाश तिवारीका अनुसार पोखराको सडकमा गत असार २६ गतेदेखि नै ट्याक्सी गुड्न थालेका हुन् ।

पोखरामा करिब दुई हजार २०० ट्याक्सी रहेकामा अहिले आधारभूत स्वास्थ्य सतर्कतासहित करिब एक हजार ५०० ट्याक्सी पोखराको सडकमा गुडेका छन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्