भारतविरुद्ध मैत्रीपूर्णः नेपालको प्रदर्शनमा सुधार, किरण चेम्जोङको कीर्तिमान – Janadesh Daily | ePaper

भारतविरुद्ध मैत्रीपूर्णः नेपालको प्रदर्शनमा सुधार, किरण चेम्जोङको कीर्तिमान


जनादेश स्पोर्ट्स ।

आइतबार घरेलु मैदान दशरथ रंगशालामा भएको भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाल २–१ ले पराजित भयो । नेपालले पहिलो हाफमा पाएको गोलका केही राम्रो अवसर खेर फाल्दा अग्रता लिने राम्रो अवसर खेर फालेको थियो । दोस्रोमा सुधारिएको प्रदर्शन गरेको भारतले ६२औँ मिनेटमा वैकल्पिक खेलाडी फारुख चौधरीको गोलबाट अग्रता लियो ।

चिङलेनसेनाको लामो क्रसमा कप्तान सुनिल क्षेत्रीले दिएको हेडिङ पासलाई नियन्त्रणमा लिदै फारुखले बललाई पोस्टको दिशा दिएका थिए । फारुख दोस्रो हाफको सुरुमै विपिन सिंहको स्थानमा मैदान छिरेका थिए । मैदान छिने वित्तिकै आफ्नो प्रभाव जमाउन सफल फारुखले भारतलाई अग्रता दिए ।

सुनिलले ८१औँ मिनेटमा गरेको गोलमा भारतले अग्रता दोब्बर बनायो । लगभग मध्यभागमा अनिरुद्ध थापाले हेडमाफर्त दिएको पास नियन्त्रणमा लिदै अघि बढेका सुनिलले ‘वान भर्सेस वान’मा सहज गोल गरेका थिए ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी हुँदा तेज तामाङले गरेको गोलबाट नेपालले खेलमा फर्किने प्रयास गरेपनि सफल हुन सकेन । तेजले झन्डै ३० यार्डबाट हानेको लामो प्रहारलाई भारतका गोलकिपर अमरिन्दर सिंहले ठम्याउन सकेनन् ।

पहिलो खेलमा नेपालले भारतलाई १–१ को बराबरीमा रोकेको थियो । भारतसँग पराजित भएनपनि नेपाली समर्थकले भने नेपाली टिमको खुलेरै समर्थन गरिरहेका छन् । विगतभन्दा नेपालको प्रदर्शनमा सुधार देखिएको भन्दै उनीहरूले नेपाली खेलाडी र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको तारिफ गरिरहेका छन् ।

प्रशिक्षक अल्मुताइरीले नेपालले साफका लागि पर्याप्त नभएपनि सुधारिएको प्रदशर्न गरेकाे बताए । भारतीय प्रशिक्षक इगोर स्टिम्याच पनि नेपालले धेरै सुधार गरेको बताए ।

प्रशिक्षक अल्मुताइरीले तेज तामाङको गोल, विशाल श्रेष्ठ र राजन गुरुङको डेब्यू र नेपाली खेलाडीको प्रदर्शन राम्रो पक्ष रहेको बताए। उनले विपक्षीको रणनीतिअनुसार पहिलो हाफमा आफ्नो क्षेत्रमा खेलेको बताए।

‘हामीले सुधारिएको प्रदर्शन गर्‍यौं। विपक्षीको रणनीतिअनुसार पहिलो हाफमा आफ्नो क्षेत्रमा खेलेका थियौं। दोस्रो हाफमा हामीले खुल्ला भएर खेल्यौं। नेपालले गोल गर्ने अवसर पाएपनि फिनिसिङ हुन सकेन,’ उनले भने ।

यता, भारतीय टिमका मुख्य प्रशिक्षक इगोर स्टिकले दोस्रो खेल पहिलेको तुलनामा राम्रो भएको बताए।

‘पहिलो खेलभन्दा आजको खेलमा हाम्रो टोलीले राम्रो खेल्यो। पहिलो हाफभन्दा हाम्रो दोस्रो हाफ राम्रो थियो। खेलाडीहरुले राम्रो खेले। म हाम्रा खेलाडीको प्रशंसा गर्न चाहन्छु। तर, अझै सुधार गर्नपर्ने ठाउँ छ,’ उनले भने।

उनले दोस्रो हाफमा भारतीय टोलीले सम्हालेर खेल्दा गोल निस्केको पनि बताए। ‘हाम्रा खेलाडीले संयमित भएर खेले, त्यसैले गोल निकाल्न सफल रहे,’ उनले भने।

किरणको कीर्तिमान
राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका छन् ।

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलसँगै किरणले यो उपलब्धी हात पारेका हुन् । किरण सुरुवाती-११ मा परेका छन् ।

किरणको यो नेपालका लागि ७४ औं खेल हो ।

किरणले पूर्व कप्तान विराज महर्जनको कीर्तिमान भङ्ग गरेका हुन् । विराजले नेपालका लागि ७३ खेल खेलेका छन् । किरणले बिहीबार भारतविरुद्धको पहिलो मैत्रीपूर्णमा विराजको कीर्तिमान बराबरी गरेका थिए ।

विराजले नेपालको लागि सर्वाधिक खेल खेल्ने उपलब्धी थ्री नेसन्स कप फाइनलका क्रममा प्राप्त गरेका थिए । विराजले सन्यास लिइसकेका छन् ।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्