चीनले नेपाली सीमा मिचेको छैन- परराष्ट्र मन्त्रालय (विज्ञप्तिसहित) – Janadesh Daily | ePaper

चीनले नेपाली सीमा मिचेको छैन- परराष्ट्र मन्त्रालय (विज्ञप्तिसहित)


जनादेश, काठमाडौं ।

सरकारले हुम्लामा चिनियाँ पक्षले नेपाली भूमि मिचेको भन्दै आएका समाचारको खण्डन गरेको छ । समाचारप्रति ध्यानाकर्षण भएको भन्दै बुधबार परराष्ट्र मन्त्रालयले चीनले नेपाली भूमिमा भवनहरू नबनाएको स्पष्ट पारेको हो ।

हुम्लामा नेपाली भूमि मिचेर चीनले आधुनिक भवनहरू बनाएको भन्दै नेपाल र भारतका केही सञ्चार माध्यममा केही दिनयता समाचार आएका थिए । मन्त्रालयले भने नेपाल-चीन सीमाका ११ र १२ नम्बर पिलरका बीचमा नेपाली भूमि नमिचिएको र नापी विभाग, सरकारी अभिलेख, संयुक्त सीमा अनुगमन टोलीको रिपोर्ट र सीमा नक्साका आधारमा ती भवनहरू नेपाली भूमिका नबनेको प्रष्ट भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा सन् २०१६ मा पनि यस्तै समाचार आएको र त्यसपछि अन्तरमन्त्रालय टिमले स्थलगत अनुगमन गरेर ती भवनहरू नेपाल-चीन सीमाबाट करिब एक किलोमिटर पर चिनियाँ भूमिमै बनेको ठहर गरेको मन्त्रालयले स्मरण गराएको छ ।

विज्ञप्तिमा नेपाल र चीनबीचको सीमा दुई देशबीच हस्ताक्षर भएका सीमासन्धि र सीमा प्रोटोकलहरूका आधारमा निर्धारण भएको उल्लेख गरिएको छ । सीमा सम्बन्धका विषयमा नेपाल र चीन निकट संवादमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

हेर्नुस् विज्ञप्तिः

[embeddoc url=”http://janadeshdaily.com/wp-content/uploads/2020/09/Foreign-Ministry-Press-sept-24.pdf”]

हुम्लाको मान्खा गाउँपालिकामा चीनले नेपाली भूमि मिचेर आधुनिक भवन बनाएको भन्ने समाचार आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी गिरीसहित नेपाली सेना, नेपाल प्रहरी, नाम्खा गाउँपालिकाका अध्यक्षसहितको एक टोली उक्त क्षेत्रमा पुगेको थियो ।

नेपालस्थित चिनियाँ दूतावासले बुधबार एक विज्ञप्ति जारी गरी नेपाली भूमि मिचिएको भन्ने समाचार खण्डन गर्दै ती भवनहरू आफ्नै भूमिमा बनेको स्पष्ट पारेको थियो ।

भारतसँग सीमा विवाद चलिरहेकै समयमा नेपालमा चीनसँग सीमा विवाद रहेको भन्दै समाचार आउने गरेका छन् । यस अघि गोरखामा पनि चीनले नेपाली भूभाग मिचेको भन्दै गलत समाचार आएपछि मन्त्रालयले खण्डन गर्दै फेक समाचार नलेख्न आग्रह गरेको थियो ।

यो पनि हेर्नुस्- हिमालयन रेलः नेपाल-चीन सीमापार रेलको प्रारम्भिक सर्वे सम्पन्न (फिचर) 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्