रिङरोडमा मध्यरातमा सेनाको बख्तरबन्द परेड, विश्लेषकको प्रश्नः माघ १९ मै किन ? (फोटो फिचर) – Janadesh Daily | ePaper

रिङरोडमा मध्यरातमा सेनाको बख्तरबन्द परेड, विश्लेषकको प्रश्नः माघ १९ मै किन ? (फोटो फिचर)


जनादेश वाच ।

सोमबार (हिजो) मध्‍यरातमा नेपाली सेनाले काठमाडौँको सडकमा बख्तरबन्द परेड निकालेपछि यसबारे अनेक कोणबाट विश्लेषण भैरहेको छ ।

तत्कालीन राजा ज्ञानेन्द्रले निर्वाचित सरकारलाई कू गरेकै दिन पारेर मध्यरातमा १० युद्ध कवज गण स्वयम्भूबाट हातहतियारले सुसज्जित बख्तरबन्द गाडीसहित सडकमा नेपाली सेनाले परेड निकालेको हो ।

ज्ञानेन्द्र शाहले आफ्नो शासन हातमा लिँदा पनि यसैगरी बख्तरबन्द गाडी सडकमा निकालिएको थियो।    
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछिको विकसित राजनीतिक घटनाक्रम भइरँदा नेपाली सेनाले भने उक्त परेडले धेरैलाई झसक्काएको छ । कतिपयले यसलाई ‘माघ १९ कै छेको पारेर किन सडकमा बख्तरबन्द गाडीको परेड’ भनेर प्रश्न समेत उठाएका छन्।

तर नेपाली सेनाले यसलाई ‘नियमित अभ्यास’ नै भनेको छ । सेनाका अनुसार व्यारेकभित्र गरेको अभ्यासलाई अझ निखार्नको लागि सडकमा पनि अभ्यास गर्नुपर्ने हुन्छ। त्यसका लागि सडक जाम नहुने समय पारेर रातिको समयमा सैन्य गाडी सडकमा निकालिएको छ ।

सैनिक प्रवक्ता तथा सहायकरथी सन्तोषबल्लभ पौडेलले नियमित अभ्यास योजना अनुसार सोमबार राति सेनाको गाडीले चक्रपथको चक्कर लगाएको बताएका छन्। सेनाका अनुसार राति बख्तरबन्द गाडीहरुले काठमाडौं चक्रपथको एक चक्कर लगाएका थिए ।

नागरिक अगुवाहरुले सत्तामा प्रधानमन्त्री केपी ओलीको रजगज भएको बेला ‘सेनाले बख्तरबन्द गाडीमा चढेर चक्रपथ चक्कर मार्नुको साङ्केतिक अर्थ के हो ? भन्ने प्रश्न गरेका छन्।

एक राष्ट्रिय दैनिक प्रितिक्रिया दिएका सामरिक तथा भूराजनीतिक मामिला जानकार गेजा शर्मा वाग्लेले भने अहिलेको परिस्थितिमा सेनाले गर्ने अभ्यासले आशंका र संशय पैदा गरेको टिप्पणी गरेका छन् । ‘प्रतिनिधिसभा विघटनपछि सिर्जना भएको अत्यन्त तरल, जटिल र अन्योलपूर्ण राजनीतिक घडीमा सेनाले राजधानीलगायत देशका विभिन्न स्थानमा गर्ने अभ्यासले आशंका र संशय सिर्जना गरेको छ,’ वाग्लेले भनेका छन्, ‘सेनाले नियमित अभ्यासको संज्ञा दिएको छ, तर यो संयोग मात्रै नहुन सक्छ । विकसित राजनीतिक तथा सुरक्षा परिस्थितिको विश्लेषण गर्दै सेनाले मनोवैज्ञानिक सांकेतिक सन्देश दिन चाहेको देखिन्छ, जुन अर्थपूर्ण छ ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्