ओली खुमलटार गएपछि ट्वीटरमा भीम रावलले लेखेः अब त चुप लाग्छन् कि – Janadesh Daily | ePaper

ओली खुमलटार गएपछि ट्वीटरमा भीम रावलले लेखेः अब त चुप लाग्छन् कि


जनादेश, काठमाण्डौ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न शनिबार खुमलटार पुगेका थिए । बिहान ११ बजे पुगेका ओली त्यहाँ झण्डै डेढ घण्टा बसे । त्यहीबीचमा पार्टी उपाध्यक्ष वामदेव गौतम पनि पुगेपछि तीन नेताबीच पार्टी विवाद, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र स्थायी कमिटीमा पेस भएका अध्यक्षद्वयका प्रतिवेदनमाथि छलफल भएको खुमलटार स्रोतले बताएको छ ।

ओली खुमलटार गएपछि नेकपास्थायी कमिटी सदस्य भीम रावलले आफूहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्दा व्यङ्ग्य गर्नेलाई जवाफ दिएका छन् ।
रावलले ट्वीटरमा भनेका छन्,‘बिहान प्रम केपी ओली जी, प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ। वामदेवजीको उपस्थितिमा मिलौं भन्नुभएछ। हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्ल्लुक उफ्रिँदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि?’

उनले नेताबीच कुराकानी हुनु र सहमति खोज्न राम्रो भएको पनि बताएका छन् । ‘नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो। सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ’,उनले भनेका छन्।

प्रधानमन्त्री ओलीले खुमलटारबाट सीधै पुल्चोकस्थित मन्त्री निवास पुगेर गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेका थिए । त्यहीँ मन्त्रीहरू भानुभक्त ढकाल, पद्मा अर्याल, बसन्त नेम्वाङलगायतलाई बोलाएर भेट गरेर दिउँसो साढे १ बजे बालुवाटार फर्किएका हुन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्